
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गरेका छन् । १३ जना न्यायाधीशले बिहीबारका लागि फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भनेका छन् ।
न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र नहकुल सुवेदी संलग्न बैठकले त्यस्तो निर्णय गरेको हो ।
प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका २० जना न्यायाधीशमध्ये ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले फुलकोर्टबाहेकका बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । त्यसैले बुधबारको बैठकमा उनीहरू थिएनन् ।
‘हामी १३ जना न्यायाधीशले नियमावली र निर्देशिकालाई अन्तिम रूप दिएर मुख्य रजिस्ट्रारलाई फुलकोर्ट बोलाउन भनेका छौं, बाँकी ५ जना न्यायाधीशले फुलकोर्ट बैठकमा सहभागी हुने बताएका छन्, सम्भवतः बिहीबार फुलकोर्ट बसेर त्यसमा निर्णय गर्छौं,’ एक न्यायाधीशले भने ।
सर्वोच्च अदालत नियमावलीअनुसार फुलकोर्ट प्रधानन्यायाधीशको अध्यक्षतामा बस्छ । यसअघि नै प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले बिहीबारका लागि आफैंले बोलाउन भनेको बैठकमा पनि जबरासँगै नबस्ने जनाएका छन् ।
‘हामी १८ जना न्यायाधीश बसेर निर्णयमा सही गरेर पठाइदिन्छौं, प्रधानन्यायाधीशले त्यसैमा सहमति जनाउनेछन्,’ ती न्यायाधीशले भने । प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ । नियमावलीमा ‘प्रधानन्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था छ । त्यसलाई संशोधन गरेर ‘गोला प्रणालीबाट मुद्दा तोकिनेछ’ बनाइनेछ ।कान्तिपुर दैनिकबाट







