
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलो र विद्युतीय सवारीसाधन प्रयोग गर्नेलाई सहुलियत दिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को साधारणसभालाई उद्घाटन गर्दै प्रधानमन्त्रीले काठमाडाैंमा मात्रै भए पनि विद्युतीय चुलो र सवारीसाधन सञ्चालन गर्नुपर्ने बताए ।
‘त्यसपछि बिस्तारै तराई र सबै ठाउँमा विद्युतीय सवारीसाधन चलाउन सकियो भने नेपाल धेरै देशका लागि नमुना बन्न सक्छ,’ उनले भने । नेपालको विद्युत् नेपालमै उपयोग गरे नेपालले संसारमा उदाहरणीय र नेतृत्वदायी स्थान हासिल गर्न सक्ने उनको भनाइ छ ।
‘बिस्तारै देशभर यो अभियानका रूपमा लैजानुपर्छ । विद्युत् उद्यमीलाई भन्न चाहन्छु कि विद्युत् उत्पादनलाई थालनी गर्नुस् । सरकारले तपाइँहरूलाई सबैखालका सहुलियत दिन्छ,’ उनले भने ।
२७ वर्षमा निजी क्षेत्रले १५ हजार पाँच सय मेगावाटभन्दा बढी विद्युत् आयोजनाहरूका लागि १० खर्बभन्दा बढी लगानी गरेको छ । प्रवर्द्धकहरूले विद्युत् आयोजनाको पहिचान, अध्ययन, विकास र सञ्चालनमा ल्याउन सो परिमाणको रकम खर्च गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
आगामी पाँच वर्षमा थप १७ खर्बभन्दा बढी लगानी गर्ने अवस्था रहेको इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । नेपालमा पहिलोपटक १९६८ सालमा निर्माण भएको पाँच सय किलोवाट फर्पिङ जलविद्युत् केन्द्रबाट सुरु भएको एक सय १० वर्ष भएको छ ।
यो अवधिमा दुई हजार ३९ मेगावाट जडित क्षमता छ, जुन नेपालको कुल विद्युत् उत्पादन सम्भावना करिब ४ दशमलव ७ प्रतिशत मात्रै हो । जबकि नेपालमा लगानीको हिसाबले सम्भाव्य जलविद्युत् क्षमता ४३ हजार मेगावाट छ ।
अहिले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे र माथिल्लो तामाकोसीमार्फत चार सय ७८ मेगावाट र प्राधिकरणको आफ्नै आयोजनाबाट ६ सय ४७ दशमलव ८४ मेगावाट उत्पादन भएको छ । त्यस्तै, निजी क्षेत्रबाट नौ सय १३ दशमलव पाँच सय ३५ मेगावाट विद्युत् उत्पादन भएको छ ।
अहिले कुल जलविद्युत्मा निजी क्षेत्रको हिस्सा ४५ प्रतिशत छ । यो अवधिमा सरकारी क्षेत्रबाट ३१ आयोजना बनेका छन् । तर, निजी क्षेत्रले पछिल्लो २७ वर्षमा एक सय १० आयोजना निर्माण गरेको छ । विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० पछि जलविद्युत्मा निजी क्षेत्र प्रवेश गरेको हो ।
सरकारी क्षेत्रबाट अहिले ६ सय १० मेगावाटका सात आयोजना निर्माणाधीन छन् । त्यस्तै, निजी क्षेत्रबाट तीन हजार पाँच सय ६ मेगावाटका एक सय ३८ आयोजनाहरू निर्माणाधीन छन् । यस्तै, एक हजार आठ सय ५२ मेगावाटका ९९ आयोजना पिपिए गरेर निर्माणको चरणमा छन् । नयाँ पत्रिकाबाट







