
काठमाडौं, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनलेयस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्छ । त्यसका लागि सरकार अनुदान दिन तयार छ ।” प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत प्रतिबद्धतासमेत व्यक्त गरेक्का छन् ।
उनले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् ।
उनले भने, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।”
जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने उनको भनाइ छ ।







