
बिरगंज, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।
आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले न्यायालयलाई असफल हुनबाट जोगाउन प्रधानन्यायधीश जबराले पदबाट राजनीनामा दिनुपर्ने बताएका हुन् ।
महत्तोले भने,‘ देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा छन्,सर्वोच्चका न्यायाधीश पनि जबराको विरोधमा छन्, अदालत धेरै दिनदेखि ठप्प छ , जनता न्याय पाउनबाट बञ्चित छन्। यस्तो अवस्थामा न्यायालयलाई बन्दी बनाएर राख्नु उचित हुँदैन,जबराले अविलम्ब राजीनामा दिएर न्यायालय र देशलाई असफल हुनबाट जोगाउनुपर्छ ।’
यसैगरी उनले न्यायालयप्रति जनताको भरोसा टुटे देश पनि असफल हुने खतरा रहेको बताए । न्यायालय सेटिङमा चलिरहेको र त्यसको मुख्य जिम्मेवार प्रधानन्यायधीश जबरा नै भएको भन्दै लोसपाका नेता महत्तोले जबराले सेटिङमै फैसला गर्दै आएका कारण नै कानुन व्यवसायी र न्यायाधीशहरुले जबराको राजीनामा मागेको उनको भनाइ छ ।
अब पनि न्यायालयको गरिमा र साख बचाउनुछ भने प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिएर निकास दिनुपर्ने उनले बताए ।







