
काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हाल मिटर ब्याजीहरु अत्यन्तै अत्याचारीको रुपमा देखा परेको बताएका छन् ।
सोमबार भ्रातृ संगठन अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताएका हुन् ।
उनले भने, ‘दलाल प्रवृत्ति हुर्किएको छ । मिहिनेत नै नगरिकन कमाउने प्रवृत्ति, लुट्नेप्रवृत्ति हुर्किएको र गहिरिंदै गएको पाइन्छ । अहिले मिटर ब्याजीहरु अत्यन्तै अत्याचारीको रुपमा देखा परेका छन् । दलाल नोकरशाहीको गठबन्धन पनि उस्तै छ । प्रशासन, प्रहरी र राजनीतिमा जोडिएर तीनै पक्षको गठबन्धन बनेर काम गरिरहेका छन् । गरिब किसानहरुको बिजोग बनाइरहेका छन् ।’
यसैगरी कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बढी आर्थिक उपार्जन हुने कृषि कर्ममा संलग्न हुन समेत आह्वानसमेत गरेका छन् ।







