
काबुल, अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिवान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमण भएको छ । उक्त आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भीडभाडको समयमा विष्फोट भएको हो ।
प्रत्यक्षदर्शी मोहम्मद नाबीले सञ्चारमाध्यमसँग भनेका छन्,”विष्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिवानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विष्फोट भएको थियो ।”
उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन भएको छैन । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको बिरूद्ध इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमलाहरू भोगिरहेको छ । एजेन्सी







