
काठमाडौं, सरकारले हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको हो ।
उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो ।
सो खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । आगामी आइतबार खोप लगाउने तयारीका साथ काम भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ ।







