धनुषा ,धनुषा जिल्लामा कर्फ्यु लगाइएको छ । जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले शनिबार उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ ।
साम्प्रदायिक सद्भावमा खलल पुग्ने गरी भइरहेको नारा जुलुस हुल हुज्जत रोक्न स्थानीय प्रशासनले दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद सुरु भएको थियो । सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधाममा प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नंं २० देवपुरा रुपैठा भन्ने ठाउँमा पूर्व जलाद नदीको कल्री बाँध देखि पश्चिम जनकपुर जटही माग दोबाटो, उत्तर हनुमानगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिण देवपुरा निमचौक देखि बहुअर्बा जानेसम्म निषेधाज्ञा जारी गरिएको छ ।







