
काठमाडौं, वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान छनोट भएका युवा अबको एक महिनाभित्र इजरायल पुुग्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।
विभागका अनुसार पहिलो चरणमा रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका युवाको प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षण गरी चरणबद्ध रूपमा इजरायल पठाउने तयारी गरेको हो ।
एक/दुई दिनभित्रै प्रहरी प्रतिवेदन लिन र स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको नामसहित सूचना आह्वान गर्ने तयारी भएको विभागले जनाएको छ ।
यसैगरी इजरायल जाने श्रमिकका लागि विभागले क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्नेछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका १६ सय उम्मेदवारमध्येबाट ११ सय ७५ जना रोजगारीका लागि योग्य भएका थिए ।
इजरायलले सार्वजनिक गरेको उम्मेदवारहरूको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन, अभिमुखीकरण, करार र श्रम स्वीकृतिका सम्बन्धमा विभागले केही दिनभित्र सूचना सार्वजनिक गर्ने भएको छ ।
यस्तै मेडिकललगायत अन्य प्रक्रियामा समस्या आउन सक्ने भन्दै थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ भने यसमा ८२१ महिला र ३५४ पुरुष रहेका छन ।







