
काठमाडौं, चितवनमा हुने दशौँ महाधिवेशन (१०–१२ मंसिर)बाट निर्विकल्प अध्यक्षमा दोहोरिने एमाले अध्यक्ष केपी ओलीको तयारीलाई उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेर चुनौती दिएका छन् ।
एमाले देशभर महाधिवेशन प्रतिनिधि छनोटको अन्तिम तयारीमा जुटिरहेका वेला उपाध्यक्ष रावलले गृहजिल्ला अछाम पुगेर मंगलबार अध्यक्षको दाबेदारी घोषणा गरेका छन् । शक्ति बाँडफाँडमा नाटकीय सहमति नभए ओली निर्विरोध अध्यक्ष हुनेछैनन् ।
अछामको साँफेबगर नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामार्फत रावलले ओलीसँगै अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । यद्यपि ओलीले पनि अध्यक्ष लड्ने घोषणा अझै गरेका छैनन् । महाधिवेशनका लागि अध्यक्षको दाबेदारी घोषणा गर्ने रावल पहिलो नेता हुन् । एमालेको संस्थापन पक्ष एकताका सन्देश दिन सर्वसम्मत नेतृत्वको कोसिसमा छ । उपमहासचिव घनश्याम भुसालले पनि निर्विरोध अध्यक्ष सम्भावना नरहेको बताएका छन् ।
एमालेले २७ कात्तिकमा देशभर एक हजार नौ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्दै छ । त्यसका लागि देशभरका जिल्ला कमिटीले तयारी थालेका छन् भने केन्द्रीय कार्यालयमा उपमहासचिव विष्णु पौडेल प्रमुख रहेको संगठन विभागले सदस्यता नवीकरणको कामलाई अन्तिम रूप दिँदै छ । केन्द्रीय कार्यालयले महाधिवेशन प्रतिनिधि छनोटको मापदण्डसमेत उल्लेख गरेर चौधौँ अन्तरपार्टी निर्देशन पठाइसकेको छ ।
अध्यक्षमा उठ्ने घोषणाअघि रावलले ओलीसँगको प्रतिस्पर्धामा हारको परिणाम आफूलाई स्वीकार्य हुनेसमेत प्रस्ट्याएका छन् । ‘कतिपय साथीहरूले दशौँ महाधिवेशनका सन्दर्भमा तपाईं केमा उठ्नुहुन्छ भन्दै खुल्दुली व्यक्त गरिरहनुभएको छ । मैले त्यसमा दुईवटा उत्तर दिने गरेको छु । पहिलो, तपाईंहरू जेमा उठ् भन्नुहुन्छ म त्यहीमा उठ्छु । तपाईंहरूको पनि यहाँ केही छ भने भनिहाल्नुस्… (हलको जवाफ– अध्यक्ष) । तपाईंहरूको प्रस्तावै रहेछ । एउटा त्यो भनेको छु ।’ अध्यक्ष उठ्ने तयारीलाई कार्यकर्ता भेलाबाट अनुमोदन गराउँदै रावलले भनेका छन् ।
ओली पनि आठौँ महाधिवेशनमा पराजित भएर अध्यक्ष भएको प्रसंग स्मरण गर्दै रावलले आफूलाई जस्तोसुकै चुनावी परिणाम पनि स्वीकार्य भएको प्रस्ट्याएका छन् । उनले त्यतिवेला ओलीकै प्यानलमा आफू उपाध्यक्षमा पराजित भएकोसमेत स्मरण गरेका छन् ।
‘कति कार्यकर्ताले सोध्नुभएको छ, हार्यो भने के गर्नुहुन्छ ? मैले भनेको छु, चुनावमा लडेपछि नहारेको को छ ? आठौँ महाधिवेशनमा केपी ओलीले हार्नुभएको होइन ? त्यो महाधिवेशनमा केपी ओली र म एउटै प्यानलमा थियौँ, उहाँले अध्यक्षमा र मैले उपाध्यक्षमा हारेको हो,’ रावलले भने, ‘अब चुनावको कुरा गरौँ, केपी ओलीले प्रतिनिधिसभाको चुनावमा झापामा हार्नुभएको छैन ? म पनि त्यतिवेला संविधानसभाकै चुनावमा हारेको हुँ । दुवैले हारेका थियौँ, माधव नेपालले काठमाडौंमा हार्नुभएको थिएन र ? मुख्य कुरा देशको लागि, जनताको लागि, न्यायका लागि, समानताका लागि, सिद्धान्तका लागि झन्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने हो । हार्ने कुरा के भो र ? यही ठाउँमा ०४८ मा हारेको हुँ, तर तपाईंहरूले जिताएर प्रतिनिधिसभा सदस्य, देशको उपप्रधानमन्त्री बनाइदिनुभो । त्यसकारण दशौँ महाधिवेशनमा तपाईंहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु, हार्ने–जित्ने कुराको चिन्तै नगर्नुस् ।’ नयाँ पत्रिकाबाट







