
जनकपुरधाम, प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले आग्रह गरेका छन् । आज जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले यस्तो बताएका हुन् ।
उनले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राखे ।
उनले भने, ‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ । जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मद्यत पुग्छ । जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’
उनले राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पारेका छन् ।







