
काठमाडौं, सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । यातायात व्यवस्था विभागले अर्को महिनाको पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो ।
विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी भएको जानकारी दिए ।
गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कोरोना माहामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो । लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ ।
विभागमा सात लाख प्रति लाइसेन्स छपाइ गर्न बाँकी छ । सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको छ । उहाँले भन्नुभयो, “कार्ड आउन कम्तीमा एक महिना लाग्छ । डेलिभरी अर्डर भइसकेको छ । तिहारसम्ममा आइसक्नेछ । त्यसपछि मात्र छपाइको काम हुनेछ । ” गोरखापत्रबाट







