
काठमाडौं, सर्वोच्च अदालतले नेकपा एमालेका दुईजना सांसदलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । यससम्बन्धी लिखत तयार नभएपछि सांसदद्वय सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको एकल इजलासबाट कारण देखाऊ आदेश, अल्पकालीन अन्तरिम आदेश र अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि झिकाउने आदेश भएको हो ।
आइतबार न्यायाधीश मीरा खड्काको इजलासले यस्तो आदेश दिएको हो । २३ भदौमा दायर रिटको पेसी यसको भोलिपल्टै तोकिएको थियो । त्यस दिन हेर्न नभ्याइनेमा परेपछि २५ भदौमा पेसी परेको थियो, तर न्यायाधीश आनन्दमोहन भट्टराईले हेर्न नमिल्नेमा परेको थियो ।
सांसद पाण्डेयले पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन् भने धनगढी घर भएकी राष्ट्रिय सभा सदस्य भट्ट तत्कालीन नेकपाबाट उक्त पदमा निर्वाचित भएकी थिइन् ।
तर, नेकपा विभाजित भएपछि एमालेमा रहेका उनीहरूले फेरि एमाले फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत (समाजवादी) दल रोज्न चाहेका थिए । तर, प्रारम्भिक निवेदनमा नाम नभएको भन्दै निर्वाचन आयोगले सनाखत गर्न आयोग पुगेका दुवैलाई फर्काइदिएको थियो ।
उनीहरूले आफूलाई एकीकृत समाजवादीको सदस्यता कायम गरिपाउन भन्दै सर्वोच्चमा निवेदन दिएका छन् । अझै पनि एमाले सांसदका रूपमा आयोगमा अभिलेख राखिन नहुने उनीहरूको माग छ ।नयाँ पत्रिकाबाट







