
काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् । बेलायतस्थित युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका जयवीरले डडेलधुराबाट कांग्रेसको क्रियाशील सदस्यता पाएका छन् ।
उनी सदस्यता पाउनयोग्य भए पनि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा भएका कारण विभिन्न टीकाटिप्पणी सुरु भएको छ । ‘राजनीतिक परिवारको छोरा भएपछि पार्टीको सदस्यता पाउनु कुनै अनौठो होइन तर धेरै मान्छेलाई उनी राजनीतिमा आउन लागेकामा डर छ,’ बालुवाटारमै बस्ने उनका एक नातेदारले भने, ‘बुबा–आमाको कारण राजनीति गर्न नपाउने कुरा भएन ।’
जयवीरको उमेर (२६ वर्ष) मा उनका बुबा (२०२८ सालमा) नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष थिए । उनले बुबाको पदचाप पछ्याउँदै राजनीतिक यात्रा सुरु गरेका छन् ।
‘राजनीतिमा सक्रिय भएर क्रियाशील सदस्यता पाइदिएको भए प्रश्न उठ्थेन कि ?’ कांग्रेस राजनीतिबारे जानकार वरिष्ठ पत्रकार किशोर नेपालले भने, ‘तर नेपालमा मात्र होइन, दक्षिण एसियामै विरासतको राजनीतिले नराम्ररी गाँजेको छ ।’ राजनीतिमा विरासतको ‘डोरी’ ले नेताका सन्तानलाई अस्वाभाविक रूपमा अघि बढाउने र क्षमतावान् तथा लामो लगानी भएका व्यक्तिलाई पछि पार्ने उनले बताए ।
कांग्रेसको राजनीतिमा विरासतको फेरो समातेर स्थापित भएका नेताहरूको कमी छैन । २०४६ सालपछि सक्रिय राजनीतिमा आएकी सुजाता कोइरालालाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले २०६६ सालमा उपप्रधानमन्त्री बनाउन खोज्दा पार्टीभित्र विवाद भयो । यद्यपि कोइरालाले उनलाई उपप्रधानमन्त्री बनाइछाडे । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा स्थापित भइन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसभित्र पारिवारिक विरासत प्रथाको रूपमा स्थापित भएको बताए । ‘लोकतन्त्रका लागि पारिवारिक विरासत घातक हो, गणतन्त्रमा त यसको कल्पना गर्नै सकिँदैन,’ उनले भने, ‘तर जन्मको आधारमा भाग्य निर्धारण हुने हाम्रो समाजमा यसले गहिरो जरा गाडेको छ ।’
आचार्यको विचारमा दक्षिण एसिया र नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरेका नेतालाई ‘स्यालुट’ गर्ने चलन छ । संघर्षमा होमिएको परिवारलाई आन्दोलनको संस्थाकै रूपमा लिने गरिन्छ । कान्तिपुर दैनिकबाट







