
याङ्गुन, म्यान्मारको छाया सरकारले मंगलबार मुलुकका सैनिक शासकविरुद्ध युद्ध घोषणा गरेको छ । गत १ फेब्रुअरीमा सेनाले कु गर्दै सत्ता हात लिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सेनाले अपदस्थ गर्नुअघिका निर्वाचित सांसद्हरुले मिलेर गठन गरेको राष्ट्रिय सहमतिको सरकार अर्थात् छाया सरकारका कार्यकारी राष्ट्रपति दुवा लसी लाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो शेयर गर्दै ‘जनताको रक्षात्मक युद्ध’ घोषणा गरेका हुन् ।
उनले भने, ‘जनताको जीवन र सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी आएकाले राष्ट्रिय सहमतिको सरकारले सैन्य जुन्ताविरुद्ध जनताको रक्षात्मक युद्ध सुरु गरेको छ । मिन आङ हलिङले नेतृत्व गरेका सैनिक आतंककारीको शासनविरुद्ध देशभरका नागरिकहरुले हरेक कुनामा यो विद्रोह गर्नेछन् ।’
जनरल मिन हलिङले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेर शासनसत्ता हातमा लिएयता म्यान्मारमा राजनीतिक संकट गहिरिएको छ । त्यसयता, यहाँका राजनीतिक पार्टीहरु एकजुट भएर संघर्षमा जुटेका छन् । एजेन्सी






