
काठमाडौं, कोभिड–१९ सङ्क्रमणका कारण करिब पाँच महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान सुरु हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकारले उडान सुरु गर्ने घोषणा गरे लगत्तै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
प्राधिकरणले खासगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ । यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको क्षेत्रीले बताए। नियमित उडान सुरु भएपछि पनि पहिलेभन्दा निकै कम मात्र उडानलाई मात्र अनुमति प्रदान गर्ने प्राधिकरणको तयारी छ ।
विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी भए पनि सुरक्षा सतर्कता महìवपूर्ण हुने भएकाले धेरै उडान गर्दा समस्या हुनसक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताएका छन् ।उडानमा कटौती भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ । प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार केही समय अन्तर्राष्ट्रिय उडानमा केवल २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने छ ।
‘उदाहरणका लागि कतार एयरलाइन्सलाई दैनिक चारओटा उडान अनुमति दिइएकोमा अब भने एउटा मात्र दिइने छ’ उनले बताए । अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ । आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने छ । आन्तरिक विमानस्थलको टर्मिनलमा एक घण्टामा बढीमा तीन सय यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ । आजकाे गाेरखापत्र दैनिकबाट







