
काबुल, तालिबान लडाकुको हिंसाले चरम सिमा नाघेपछि यतिबेला अफगानिस्तानको राजधानी काबुलमा तनाव बढिरहेको छ । तालिबानले आइतबार बिहानै जलालाबाद शहर नियन्त्रणमा लिएपछि अब सरकारको नियन्त्रणमा एक मात्र प्रमुख शहर काबुल बाँकी रहेको छ ।
शनिबार तालिबानले सरकारको नेतृत्वमा रहेको उत्तरी शहर मजार ए शरिफ आफ्नो कब्जामा लिएको थियो । सरकारी सैन्य एवम् सुरक्षा संयन्त्र असफल हुँदा राष्ट्रपति असरफ घानीमाथि राजिनामा दिने दबाब बढेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति घानीले अब भने तालिबान विरुद्ध अन्तिमसम्म लड्ने वा आत्मसमर्पण गर्ने दुई वटा बिकल्प मात्रै बाँकी छ ।
यस्तैमा अमेरिकाले आफ्ना नागरिक खाली गर्न पाँच हजार अमेरिकी सेना परिचालन गर्न लागेको जनाएको छ । राष्ट्रपति जोइ बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गर्दै कुनै देशको गृहयुद्धमा अनिश्चितकालसम्म अमेरिकी उपस्थितिको स्पष्ट कारण नदेखिएको प्रतिक्रिया दिनुभएको छ ।एजेन्सी






