
सिरहा, सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन कारावासको फैसला सुनाइएको छ । आफ्नै श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार जिल्ला अदालतले उक्त सजाय फैसला गरेको हो ।
विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको ठहर अदालतले गरेको थियो भने जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले यस्तो फैसला गरेको अदालतले जनाएको हो ।
यसअघि गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या प्रयास गरेका थिए । आगो लगाएपछि उनीले आफैँले श्रीमतीलाई उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो ।
काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा दुई दिनपछि गत माघ १२ गते बिहान अनिताको मृत्यु भएको थियो ।






