
काबुल, तालिवान बिद्रोहीले आइतबार एकै दिन तीन प्रान्तीय राजधानी कब्जा गरेको छ । तालिबान बिद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरेका छन् ।
तालिवानले ग्रामीण क्षेत्रमा आफ्नो पकड बनाई सकेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शहर पसेका तालिवान लडाकुले आइतबार उत्तरी शहर कुन्दुज सहित सर–ए–पुल र तालोक्वानमा नियन्त्रण कायम गर्न सफल रहेको छ ।
योसँगै हालसम्म तालिबानले पाँच प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भएको छ । यसअघि शनिबार तालिबानले उत्तरी क्षेत्रको जोजन राज्यको राजधानी शबरगान तथा शुक्रबार दक्षिण पश्चिमी प्रान्त निमरोजको राजधानी जारान्ज कब्जामा लिएको थियो ।
अफगानिस्तानबाट अमेरिकी तथा अरु विदेशी सैनिक फिर्ता हुने थालेपछि त्यहाँ हिंसा बढ्दै गएको छ । २० वर्षको सैन्य अभियानपछि अमेरिकी तथा नेटोमा आवद्ध सैनिकहरु आउँदो सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् ।एजेन्सी






