
वासिङ्टन, संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको बेला जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्क अनुसार महामारीका कारण उद्योगहरूले गरेको कष्टकर सङ्घर्षपछि पछिल्लो केही महिनामा उद्योगहरू सामान्य अवस्थामा फर्किने कसरत गरिरहेका छन् ।
महामारीका कारण अझै पनि लाखौं रोजगारीका अवसरहरू स्थापित हुन नसकेको अमेरिकी अर्थशास्त्रीहरूले बताइरहदा अमेरिकी श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले भने बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको र ५.४ प्रतिशतसम्म कायम भएको देखाएको छ ।
कोरोना नियन्त्रणका लागि अमेरिकाले व्यापक खोप अभियान चलाएको र यसबाट महामारीलाई नियनत्रणको बाटोमा ल्याइएको सरकारी दावी छ ।
आर्थिक गतिविधि सामान्य हुन थालेपछि काममा जोडिने क्रमले गति लिन थालेको छ भने अर्थतन्त्र महामारी पूर्वको स्तरभन्दा रोजगारीको सङ्ख्या अझै ५७ लाख कम रहेको छ ।
यसैगरी गैर–कृषि क्षेत्रमा रोजगारीका अवसरहरू अझै पूर्ववत अवस्थामा आउन नसकेको बताइएको छ । पर्यटन क्षेत्रमा खासै सुधार नदेखिएको भएपनि कृषि तथा सार्वजनिक शिक्षा क्षेत्रमा रोजगारीको दर क्रमशः तीन लाख ८० हजार र दुई लाख २० हजारले बढेको छ ।एजेन्सी






