
बेइजिङ, संयुक्त राज्य अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन विरोधी नीतिहरुलाई निरन्तरता दिएको बेइजिङको आरोप छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले जो बाइडेनको प्रशासनले ट्रम्पले नै अनुसरण गरेको ‘चीन सम्बन्धी गलत नीति’लाई निरन्तरताको दिएको आरोप लगाएका हुन् ।
चीनविरुद्धको उक्त नीतिहरु अमेरिकाले नसच्याए उसले ठूलो संकटको सामना गर्नुपर्ने यीले चेतावनी दिएका छन् ।
अमेरिकाकी उप–विदेशमन्त्री वेन्डी सर्मेनसँगको भेटका क्रममा यीले अमेरिकाकै कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको र उसैले सम्बन्ध थप नबिगार्न कदम चाल्नुपर्ने बताएका छन् ।
उनले भने, ‘नयाँ अमेरिकी सरकारलेअघिल्लो प्रशासनको चरम र चीनविरुद्धका गलत नीतिहरूलाई निरन्तरता दिएको छ, जसले बारम्बार चीनको मूल्य मान्यतालाई चुनौती दिन्छ र दमनलाई तिव्र पार्छ। चीनले दृढतापूर्वक यसको विरोध गर्दछ ।’
चीन र अमेरिकाबीचको सम्बन्ध व्यवस्थापन गर्न असफल भएको खण्डमा त्यसले ‘ठूलो विपत’ निम्त्याउने उनले चिन्ता व्यक्त गरेका छन् ।
चिनको तीन माग
विदेशमन्त्री यीले अमेरिकासँग तीनवटा मुख्य माग राखेका छन् । यी माग पुरा भएमा चीन र अमेरिकाबीचको सम्बन्ध सुमधुर हुने बताइएको छ ।
यीका अनुसार पहिला अमेरिकाले सिनजियाङ मानवअधिकारको विषयमा चीनमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्छ, दोस्रो हङकङको स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु हुँदैन र तेस्रो चीनको प्राविधिक विकासको विरुद्धमा प्रतिबन्धात्मक नियम रोक्नुपर्छ ।
उनका अनुसार सिनजियाङ, तिब्बत र हङकङमा चीनले लिएको नीति मानवअधिकारको विषय नभई यो अलगाववादीविरुद्ध चालिएको उपायहरु हुन् ।






