
वासिङ्टन, अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्तिमसम्ममा इराकमा रहेका आफ्ना सेनाहरु फिर्ता गरिसक्ने बताएका छन् ।
अन्तरास्ट्रिय सञ्चारमाध्यमका अनुसार सेना फर्काएता पनि इराकी सेनालाई अमेरिकाले प्रशिक्षण र सल्लाह दिन जारी राख्ने बाइडेनको भनाइ छ । इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमि र बाइडेनबीच ह्वाइट हाउसमा वार्ता भएपछि यो घोषणा भएको हो ।
इराकमा यतिबेला २५ सय अमेरिकी सेना तैनाथ छन् । सरकारी सेनालाई अमेरिकी सेनाले आईएस लडाकुविरुद्धको लडाइमा सहयोग गरिरहेको छ ।
बीबीसीका अनुसार गतवर्षको जनवरीमा अमेरिकी सेनाले ड्रोन हमला गर्दै इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इराकमा रहेका अमेरिकी सेनाको अड्डा लक्षित आक्रमणहरु भइरहेका छन् ।
इराकमा अमेरिकी सेनाको उपस्थिती त्यसबेला यता थप विवादित बनिरहेको छ । यस्तै इरानलाई समर्थन गर्ने इराकी राजनीतिक दलले आइएसको खतराको बाबजुद पनि अमेरिकी सेना फर्कनुपर्ने माग गरिरहेको छ । एजेन्सी






