
नयाँदिल्ली, भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या आइतबार १२४ पुगेको छ भने अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।
भारतको पश्चिमी क्षेत्रमा बिहीबारबाट मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आगामी केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ ।
उक्त पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ । एजेन्सी






