
काठमाडौं, कृषि तथा पशुपन्छी विकास मन्त्रालय भारत सरकारसँग (जीटुजी) सम्झौता गरी रासायनिक मल ल्याउने तयारीमा जुटेको छ । मन्त्रिपरिषद्ले सम्झौताका लागि सैद्धान्तिक सहमति दिइसकेपछि मन्त्रालय त्यसको तयारीमा जुटेको कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।
उनले भने, “दुवैतर्फको कागजातको अध्ययन भइसक्यो । दुवैतिरका कागजात मिलेका छन् । त्यसै आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति पनि दिएको हो । अब मन्त्रालयले सम्झौतापत्रमा कहिले हस्ताक्षर गर्ने त्यसको तयारीमा जुटेको छ । ”
सम्भवतः यो महिना (जेठ)भित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने उनले बताए । रासायनिक मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता हुन लागेको छ ।
सुरुको वर्षमा दुई लाख मेट्रिक टन मल लिने त्यसपछि तीन लाख बिस्तारै बढ्दै गएपछि पाँच लाख मेट्रिक टनसम्म मल खरिद गर्नेगरी सम्झौता हुन लागेको हो । दुवै देशमा अहिले कोरोनाका कारण बन्दाबन्दी रहेको हुनाले कुन माध्यमले हस्ताक्षर गर्ने त्यसको बारेमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
यसअघि बङ्गलादेशसँग पनि जीटुजी सम्झौतामार्फत ५० हजार मेट्रिक टन युरिया मल खरिद गरिसकेको छ । भारतसँग पहिलो पटक यस्तो सम्झौता हुन लागेको सचिव कार्कीले बताए ।गोरखापत्रबाट







