
काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोरोना विरुद्धको खोप वितरणमा तिव्र विभेद भएको बताएका छन् ।
पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रङ्गभेदी छ । तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरुको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन् तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ । न्यून र न्यून-मध्यम आय भएका मुलुकहरुमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ । खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’
विश्वभरका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइएको छ, तर उक्त खोप ती देशको कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको उनले बताएका छन् ।
यस्तै खोप वितरणमा देखिएको यस किसिमको असमानता हटाउन लगानी बढाउनुपर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । एजेन्सी






