
काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले सोमबार भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् ।
नेपाल सरकार, प्रदेश, स्थानीय तह, गैरसकारी संस्था, निजी क्षेत्रले आयात गर्ने लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट र त्यसका पार्टपूर्जा लगायतका सामग्रीको बिना झन्झट भन्सार जाँचपास गरी आपूर्तिलाई थप सहज बनाउन उनले निर्देशन दिएका हुन् ।
उनले एकातिर कोभिड–१९ बाट जोगिनुपर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् ।







