
सिड्नी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताएका छन् । प्रधानमन्त्री मोरिसनले सोमबार संवाददाताहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारेका हुन् ।
अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ ।
उनले भने, “अहिल्यै कुनै कदम चालिहाल्नु त्यति सुरक्षित छैन । एक दिन सीमा खोल्ने, अर्को दिन बन्द गर्ने कार्य त्यति व्यवहारिक हुँदैन । खासमा समग्र सीमा व्यवस्थापन मुख्य कुरा हो, सुरक्षित भएको सुनिश्चित नहुँदासम्म सीमा खोल्न सकिँदैन ।”
प्रधानमन्त्री मोरिसनले अर्को कदमका रुपमा सबै अस्ट्रेलियाली नागरिकलाई खोप लगाउनुका साथै अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासी कामदारलाई अस्ट्रेलिया फर्काउन सहजीकरण गरिने बताएका छन् ।






