
नयाँदिल्ली, भारतमा कोरोना संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ जनामा संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २ करोड नाघेको हो ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड २ लाख ८२ हजार ८ सय ३३ पुगेको छ । आइतबारदेखि भारतमा कोरोना भाइरस संक्रमितको संख्या केही घटेको छ ।
आइतबार ३ लाख ६८ हजार संक्रमित थपिएका थिए । शुक्रबार भने एकैदिन ४ लाख १ हजार ९ सय २३ संक्रमित थपिएका थिए । जुन भारतमा महामारी सुरु भएयताकै बढी हो । त्यस्तै शनिबार ३ लाख ९२ हजार ४ सय ८८ जना संक्रमित भएका थिए ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा भाइरसको संक्रमणका कारण मृत्यु हुने को संख्या २ लाख २२ हजार ४ सय ८ पुगेको छ ।
भारतमा संक्रमणमुक्त हुनेको संख्या करिब १ करोड ६६ लाख १३ हजार मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजारभन्दा बढी रहेको छ ।
भारतमा हालसम्म १५ करोड ८९ लाख ७२ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । तर पछिल्लो समय खोप अभाव भएका कारण अभियानसमेत प्रभावित भएको छ ।






