
गुजरात, भारतको एक अस्पतालमा आगलागी हुँदा अस्पतालमा सेवारत दुई नर्ससहित कम्तीमा १६ कोभिड–१९ सङ्क्रमित विरामीको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिमी राज्य गुजरातको भरुचको चार तलाको अस्पतालमा आगलागी भएको हो ।
स्थानीय समयअनुसार शनिबार बिहान १ः०० बजे आगलागी हुँदा अस्पतालमा करिब ५० अन्य बिरामीहरू थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।
स्थानीय प्रहरी अधिकारी राजेन्द्रसिंह चुडासमाले घटनामा दुई नर्ससहित १८ व्यक्तिको मृत्यु भएको पुष्टि गरे । उनले भने, “आगलागी अस्पतालको आईसीयूमा रहेको तारमा समस्या आउँदा आगलागी हुनपुगेको प्राथमिक अनुसन्धानबाट थाहा हुन आएको छ ।”






