
काठमाडौं, चालू आर्थिक वर्षमा नेपालले ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने केन्द्रीय तथ्याङ्क विभागले प्रक्षेपण गरेको छ । चालू आवको नौ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार उपभोक्ताको मूल्यमा सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको हो ।
चालू आवको अन्तिमसम्म कोरोना सङ्क्रमणको नकारात्मक असर सामान्य रहने र आर्थिक क्रियाकलापसमेत सामान्य तरिकाले सञ्चालन हुने विश्वासका आधारमा वृद्धिदर प्रक्षेपण गरिएको विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार उक्त वृद्धिदरपछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्नेछ । गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालू मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको छ । त्यस्तै विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २.१२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको छ ।
यसअघि विभागले १.९९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने अनुमान गरेको थियो अर्थात् गत आवको आर्थिक वृद्धिदर झन् खस्किएको छ ।
विभागले आशातीत वृद्धिदर प्रक्षेपण गरे पनि यसअघि अन्तर्राष्ट्रिय संस्थाहरूले भने सोभन्दा कम मात्रै वृद्धिदर हासिल हुने प्रक्षेपण गरेका थिए । विश्व बैङ्कले चालू आवमा नेपालको वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको थियो ।
एसियाली विकास बैङ्कले भने सन् २०२१ मा नेपालको वृद्धिदर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र सार्वजनिक गरेको थियो । विभागले नौ महिनासम्मको तथ्याङ्कको आधारमा प्रक्षेपण गरेकोले वृद्धिदर बढी देखिएको हो’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दीपछि प्रायः सबै क्षेत्र त्यसअघिको तुलनामा तङ्ग्रिएकाले पनि आर्थिक वृद्धिदरमा सुधार आएको हो ।गोरखापत्रबाट







