
नयाँदिल्ली, भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा पुनः हिमनदी विस्फोटपछि गएको पहिरोमा पुरिएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३८४ जनाको भने सकुशल उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार चमोली जिल्लाको निती उपत्यकाको सुम्नामा शुक्रबार दिउँसो हिमनदी विस्फोटपछि पहिरो गएको थियो । सोही पहिरोमा परेर २ जनाको मृत्यु भएको र ३८४ जनालाई सकुशल उद्धार गरिएको भारतीय सेनाले ट्विट गर्दै जानकारी दिएको छ ।
भारतीय सेनाका अनुसार बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) सडक निर्माणका लागि बनाइएको शिविर हिम पहिरोमा पुरिएको बताइएको छ । त्यहाँ कति सैनिक जवान, कामदार र प्राविधिक थिए भन्ने अझै प्रस्ट भएको छैन ।
यस्तै दुई महिनाअघि पनि चमोली क्षेत्रमा हिमनदी विस्फोट हुँदा ठूलो मात्रामा जीउधनको क्षति भएको थियो ।






