
काबुल, अफगानिस्तानको दक्षिणी कन्दाहार प्रान्तमा सरकारी सुरक्षा फौजले गरेको कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु भएको छ ।
रक्षा मन्त्रालयले आज जारी गरेको एक विज्ञप्ति अनुसार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरु भेला भई सेनाको शिविरमा आक्रमण गर्न लागेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको हो ।
कारबाहीमा अन्य पाँच जना तालिबानी लडाकू पनि घाइते भएका थिए । सैनिक कारबाहीलाई सघाउन अफगान हवाई बलले पनि मद्दत गरेको रक्षा मन्त्रालयको भनाई छ ।
मन्त्रालयले विद्रोही तालिवानका एउटा कारबम, तीनवटा मोटरसाइकल सहित ठूलो संख्यामा हातहतियार बरामद भएको जनाएको छ । सेनाले खोज तथा घेराबन्दी सैन्य कारबाही थालेपछि विद्रोही तालिबानको बलियो उपस्थिति रहेको कान्दाहारमा सुरक्षा व्यवस्थामा पछिल्ला केही महिनादेखि निकै सुधार आएको छ । एजेन्सी






