
नयाँ दिल्ली, इण्डियन प्रिमियर लीग (आईपीएल)मा पञ्जाब किंग्सले विजयी भएको छ । गएराति पञ्जाबले राजस्थान रोयल्समाथि ४ रनको रोमांचक जित निकाल्यो ।
२२२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २१७ रनमात्र बनाउन सक्यो । राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले शतकीय इनिंग्स खेलेका थिए ।
उनले ६३ बल खेल्दै १ सय १९ रन बनाए । त्यस्तै रियान पराग २५, जोश बट्लर २५ तथा शिवम् दुबे २३ रनमा आउट भए ।
बलिङमा पञ्जाबका आर्शदीप सिंहले तीन तथा मोहम्मद सामीले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २ सय २१ रन बनाएको थियो ।
यस्तै प्रतियोगिता अन्तर्गत आज चेन्नईमा कोलकाता नाइट राइडर्स र साविक विजेता मुम्बई इण्डियन्सबीच खेल हुनेछ ।







