
जकार्ता, इन्डोनेसियाको जाभा टापुमा शनिबार ६ म्याग्निच्यूडको भूकम्प गएको छ । त्यहाँ सुनामीको खतरा भने नदेखिएको अमेरिकी भूगर्भ सर्वेक्षणले पुष्टि गरेको छ ।
उक्त भूकम्प ८२ किलोमिटर गहिराइमा थियो । पूर्वी जाभाको मालाङ सहरबाट ४५ किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट दशौँ लाख मानिसको बसोबास रहेको मालाङ सहरलाई शक्तिशाली भूकम्पले केही बेरसम्म हल्लाए पनि कोही घाइते भएको विवरण सार्वजनिक भएको छैन ।
इन्डोनेसियामा गत साता मात्रै बाढीले ठूलो जनधनको क्षति भएको थियो । इन्डोनेसियामा हरेक वर्ष भूकम्प, बाढी, सुनामी लगायत प्राकृतिक विपदका कारण ठूलो क्षति हुने गरेको छ ।एजेन्सी






