
विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् ।संयुक्त राष्ट्रसङ्घको एउटा अङ्ग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए । उलेन विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै डब्लुएचओको आलोचना गर्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको आरोप पनि लगाएको थियो । उनको आरोप र असन्तुष्टिप्रति अन्य धेरै देशले असहमति जनाएका थिए भने डब्लुएचओबाट अलग हुने घोषणाप्रति चिन्ता व्यक्त गरेका थिए ।
डब्लुएचओबाट अमेरिका बाहिरिने र डब्लुएचओलाई दिँदैआएको सहयोग रोक्नेबारे अमेरिकाले औपचारिक रुपमै निर्णय गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले पुष्टि गरेका छन् । बाहिरिनेसम्बन्धी पत्र अमेरिकी अधिकारीहरूले सोमबार नै लागु हुनेगरी राष्ट्रसङ्घका महासचिवलाई पठाएको पनि समाचारमा जनाइएको छ ।अमेरिकी सिनेटको विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसबारे जानकारी दिएका थिए । रासस






