
ब्रासिलिया, ब्राजिलमा स्थल सेना, जल सेना तथा हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राष्ट्रपति जइर बोल्सोनारुले राजनीतिक संकटको सामना गरिरहेको समयमा स्थल, जल तथा हवाई सेना प्रमुखले एकसाथ राजीनामा दिएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जनरल एड्सन लिएल पुजोल, एडम इल्क्वेस बार्बोसा र लेफ्टिनेन्ट एन्तोनिओ कार्लोस बेर्मुडेजले राजीनामा दिएका हुन् ।
राष्ट्रपति बोल्सोनारुले सेनामाथि अनावश्यक दबाव दिंदै नियन्त्रण गर्ने प्रयास गरेपछि असहमति जनाउँदै उनीहरूले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।
यसअघि सोमबार मात्रै विदेश र रक्षामन्त्रीले पनि राजीनामा दिएपछि उनले बाध्य भएर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि गरेको कमजोर प्रयासका कारण राष्ट्रपतिको लोकप्रियता खस्कँदो रहेको छ ।
दुई वर्षअघि सत्तामा आएका दक्षिणपन्थी बोल्सोनारुले कोरोना नियन्त्रणमा वैज्ञानिकले अत्यावश्यक भनेको क्वारेन्टनसम्बन्धी नियमहरूको निरन्तर विरोध गर्दै आएका छन् ।
जनस्वास्थ्य सम्बन्धी नियमका कारण अर्थतन्त्रमा पर्ने प्रभाव भाइरसको भन्दा पनि नराम्रो हुने उनको तर्क रहँदै आएको छ ।एजेन्सी






