
काठमाडौं, सत्तारुढ एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई अहिलेको राजनीतिक समस्याको मूल कारक बताएको छ । आफ्नो स्वार्थका लागि उनले राष्ट्रपति कार्यालयलाई समेत दुरुपयोग गरिरहेको दाबी यो समूहको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पनि नेताहरू ओलीविरुद्ध आक्रामक ढंगले प्रस्तुत भए । भेलामा प्रस्तुत गरिएको अवधारणापत्रमा पनि ओलीमाथि दर्जनौँ आरोप छन् ।
भेलालाई सम्बोधन गर्दै नेता माधव नेपालले ओलीको अहंकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको बताए । ‘सबै समस्याको जरो भनेको केपी ओलीमा भएको अहंकार, व्यक्तिवाद, गुटगत मनोवृत्ति, भजन मण्डलीको चाहना हो । उहाँलाई इमानदार कार्यकर्ता चाहिएको छैन । आलोचना र सुझाब मन पर्दैन । यी सबै चिजले समस्या खडा गर्यो,’ उनले भने ।
माओवादी केन्द्रसँग एकीकरण गर्ने वेला ओलीले जनताको बहुदलीय जनवादमा अडान नलिएको, तर अहिले जबजको हिमायतीका रूपमा प्रस्तुत हुने गरेको नेता नेपालको भनाइ थियो । ‘ओलीले जबज सिध्याउने काम गर्नुभयो र समाजवादउन्मुख जनताको जनवाद मान्नुभयो । जबजको बारेमा कहीँ अडान लिनुभएन । खुसुक्क हटाउनुभयो । अनि हामीलाई त्यो थोपर्ने काम गर्नुभयो,’ उनले भने, ‘आज ओली जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ । मदन भण्डारीको बिरासत आफूले थामेको भनेर नक्कली कुरा गर्न खोज्नुभएको छ ।’
सहमतिको रटान लगाउने, तर स्वेच्छाचारी व्यवहार गर्ने र जबजको नारा लगाउँदै निरंकुशता देखाउने प्रवृत्ति ओलीमा रहेको नेता नेपालको भनाइ थियो । प्रधानमन्त्री ओलीले विदेशीहरूको सेवा मात्रै गरेको उनको आरोप छ । आफूहरूको लडाइँ पदका लागि नभएर नीति र सिद्धान्तका निम्ति रहेको उनले बताए ।
वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाए । ‘ओलीले २८ फागुनमा बालुवाटारमा गुट बैठक राखेर जुन ढंगले एकलौटी रूपमा निर्णयहरू गर्नुभयो, त्यो निर्णय पार्टी विधान र सोचअनुरूप छैन । महाधिवेशनले गरेको निर्णयअनुसार पनि छैन,’ उनले भने, ‘ओलीले हाम्रो पार्टीलाई विभाजनतर्फ, विघटनतर्फ र विसर्जनतर्फ लिने दुष्प्रयास गर्नुभएको छ ।’ ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिँडेको उनको आरोप थियो । नयाँ पत्रिकाबाट







