
सुर्खेत, कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम) मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।
जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुङ्गो छैन । राष्ट्रिय लाइन आउने आशा नै मारिसकिएको जुम्ला नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताएका छन् ।
विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदाहुँदै पनि अँध्यारोमा बस्नुपर्ने माथिल्लो कर्णालीका बालबालिका, महिला र ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन नसकेको समेत उनको गुनासो छ ।
जुम्लामा दैनिक १५ घण्टाभन्दा बढी समय नियमित विद्युतभार कटौती हुने गरेको छ । विद्युत् उत्पादन पनि घटेकाले विद्युतभार कटौती भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिए । उनले भने, “खलङ्गाका उपभोक्तालाई करीब एक मेगावाट विद्युत् आवश्यक छ । उत्पादन २२० किलोवाट मात्रै छ । बीचमा जेनेरेटरबाटै भए पनि नियमित बत्ती दिइएको छ ।”
राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि जुम्लामा खम्बा गाडि सकिएको र राजनीतिक स्तरबाट पहल भएर चाँडै प्रसारण लाइन आउन सक्ने उनको भनाइ छ । विद्युतभार कटौती हुँदा यहाँका विद्यार्थीदेखि होटेल र इलेक्ट्रोनिक व्यवसायी मारमा परेका छन् ।







