
काठमाडौं, कांग्रेसको महिला विभागले पार्टीमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने माग गरेको छ । काठमाडौंमा भएको बागमती प्रदेशस्तरीय महिला भेलाले वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो ।
शनिबारदेखि सुरु भएको भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार पाँचबुँदे घोषणापत्र जारी गर्दै सकिएको हो । ‘महिलालाई सहानुभूतिका लागि मात्रै होइन, अब हिस्सेदारीको पनि समय भयो । हरेक ठाउँमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ, पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गर्दछ,’ भेलापछि जारी घोषणापत्रमा छ । त्यस्तै, वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एकतिहाइ महिला पदाधिकारी अनिवार्य हुनुपर्ने भेलाले माग गरेको छ ।
भेलाले बालिकालाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितताका लागि विभागले जोडदार माग गरेको विभागकी सचिव लक्ष्मी खतिवडाले जानकारी दिइन् । ‘बढ्दो महिला हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधीहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट हुन आउँछ । यो सन्दर्भमा दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानुनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा छ । नयाँ पत्रिकाबाट







