
याङ्गुन, म्यान्मारमा हाल सैन्य कु पछि त्यसको शासनविरुद्ध दैनिक त्यहाँका जनताले विरोध गरिरहेका छन् । त्यहाँका सेना तथा प्रहरीले सैन्य कूको विरोध गर्नेमाथि व्यापक दमन गरि गोली चलाउँदा हालसम्म ६० भन्दा बढीको ज्यान गइसकेको छ ।
यस्तै सेनाको दमनकारी आदेशलाई पालना गर्न नचाहने केही प्रहरीहरु भागेर भारतको शरणमा पुगेका छन् । एससीएमपीले १९ प्रहरी भारतको शरणमा पुगेको उल्लेख गरे पनि म्यान्मार सरकारले दिएको जानकारीअनुसार भने ८ प्रहरी भारत पुगेको अन्तर्राष्ट्रिय स्स्ञ्चारमाध्यमले जनाएको छ ।
आफ्ना प्रहरी भारत भागेको विषयमा यतिबेला म्यान्मारको जुन्ता शासकले भारतलाई ती प्रहरी आफ्नो जिम्मा लगाउन आग्रह गरेको छ । भारतलाई म्यान्मारले लेखेको पत्रमा भनिएको छ,‘भारत र म्यान्मारबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्न भारतले ती प्रहरी हाम्रो जिम्मा लगाउनुपर्छ ।’
गत फेब्रुअरी १ मा सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सत्ता हत्याएका थिए ।एजेन्सी






