
फर्याब, अफगानिस्तानमा सेनाको विमान आक्रमणमा परी २३ तालिबान लडाकूको मृत्यु भएको छ ।अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्वारा गरिएको कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन् ।
उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाईले सो जानकारी बिहिवार दिएका हुन् । उनका अनुसार यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।एजेन्सी






