
म्यानमार, म्यानमारमा सेनाले सत्ता हात लिएसँगै म्यान्मारका सडकमा जताततै सेनाका बख्तरबन्द गाडी देखिन थालेका छन् ।
सैन्य ‘कु’ पछि त्यहाँ इन्टरनेट सेवा पनि बन्द गरिएको छ । म्यान्मारको सैनिक सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल यसअघि नै बन्द गराइसकेको छ ।
सेनाले फेब्रुअरी १ देखि नेत्री आङ सान सूची, राष्ट्रपति, मन्त्रीहरुसहित सबै प्रजातान्त्रिक नेतालाई नजरबन्दमा राखेर सत्ता हातमा लिएको हो । जसको विरोधमा लगातार जनप्रदर्शन भइरहेको छ ।
जनप्रदर्शन रोक्न सडकमा बख्तरबन्द गाडी तैनाथ गरिएको अनुमान गरिएको छ । सैन्य ‘कु’विरुद्ध म्यान्मारका नागरिकले देशको उत्तरस्थित काचिनमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीलाई लक्षित गरी सुरक्षाकर्मीले गोलीसमेत चलाएको खबर छ ।
उता, राष्ट्र संघका एक अधिकारीले म्यान्मारको सेनाले जनताविरुद्ध युद्ध घोषणा गरेको आरोप लगाएका छन् । म्यानमारका लागि संयुक्त राष्ट्रका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले जनरल हताश भएको संकेत दिइरहेका छन् र यसका लागि उनी जवाफदेही हुनुपर्ने बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्, ‘यस्तो लागिरहेको छ दकि सेनाले म्यानमारका मानिसहरुविरुद्ध युद्धको घोषणा गरेका छन् । आधा रातमा छापा मारिँदैछ, मानिसहरुलाई पक्राउ गरिँदैछ, उनीहरुको अधिकार हनन गरिँदै छन् । इन्टरनेट पुनः बन्द गरिएको छ । सेनाका कार्केड आवसीय क्षेत्रमा घुसिरहेका छन् । यस्तो लागिरहेको छ कि सेनाका जनरल हताश भएका छन् ।’एजेन्सी






