
कोभिड-१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मापदण्डअनुसार (सिसिएमसी) ले स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताएका छन् । स्वास्थ्य मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।
त्यसैगरी विमानस्थलका कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रतिव्यक्ति दुई जोरका दरले वितरण गर्नुका साथै बैठकले आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाको भिसा सहजीकरणका लागि निर्णय गर्न सिसिएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्ने भएको छ ।







