
काठमाडौं, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यसै हप्ताका लागि जी–७ समूहको बैठक बोलाएका छन् । भिडियो कन्फ्रेन्समार्फत जी–७ देशका नेताबीच छलफल हुने भएको हो ।
यसैहप्ताको शुक्रबार बोलाइएको बैठकमा विश्वमा कोरोना भाइरसविरुद्धको खोपको समान वितरणबारे छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले
जनाएको छ ।
सो बैठकमा भविष्यमा आइपर्ने कोरोनाजस्तै घातक महामारीलाई कसरी रोक्न सकिन्छ भन्ने पछि छलफल हुने बताइएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार यस बैठक अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनको पहिलो बहुपक्षीय बैठक हुनेछ।
जी–७ सात विकसित देश अमेरिका, बेलायत, क्यानडा, जापान, फ्रान्स, जर्मनी र इटालीको संगठन हो।
‘हरेक देशलाई कोरोना खोप पुर्याउनुपर्ने हामीसँग चुनौती छ । महामारीले गरेको नोक्सानबाट उठ्ने सही उपाय हाम्रो साझेदारहरुसँग छ’ जोन्सनले शनिबार भनेका छन्,‘हामी त्यस्ता राष्ट्रवादी र विभाजनकारी राजनीतिलाई अन्त्य गर्ने विषयमा चर्चा गर्नेछौं जसले सुरुवातमा कोरोनाविरुद्धको लडाइँलाई कमजोर बनाएको थियो ।एजेन्सी






