
काठमाडौं, नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको छ। यो बेलायतमा देखिएको युके भेरिएन्ट भाइरस हुन सक्ने चिकित्सकहरूको आशंका छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबैमा नयाँ भाइरस पुष्टि भएको थियो ।
युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन । त्यसैले उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए ।
नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयले नयाँ भाइरस देखिए पनि सार्वजनिक गरेको थिएन । युके भेरिएन्ट हो वा होइन भन्ने यकिन भइनसकेका कारण सार्वजनिक नगरिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । कोरोना परीक्षणमा ‘एस जिन’ नभेटिएपछि विज्ञहरूले युके भेरिएन्टको शंका गर्छन् । त्यस्ता नमुनाको ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए–नभएको छुट्याउन सकिन्छ ।
नयाँ भाइरस देखिएका १३ जनाको नमुना केन्द्रीय प्रयोगशालामा थुपारिएको छ । संक्रमितहरूको ट्राभल हिस्ट्री छैन । केन्द्रीय प्रयोगशालाका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमुना आउने क्रम बढ्दै छ । अब हरेक प्रदेशबाट नमुना मगाएर जिनोम सिक्वेन्सिङ गरिनेछ । सरकारले दैनिक कोरोना संक्रमित घट्दै गएको बताएका वेला नयाँ प्रकारको भाइरस समुदायस्तरमा देखिएपछि चिकित्सकहरू चिन्तित देखिएका छन् । नयाँ पत्रिकाबाट







