
टोकियो, जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन् ।
महिलामाथि गत साता अभद्र शब्द प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
जापानका पूर्व प्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरेका थिए ।
उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनाबको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताएका थिए ।
मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो । एजेन्सी






