
बेइजिङ, चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रशारण गर्न प्रतिबन्ध लगाएको छ । अनुचित र असत्य पत्रकारिता गरेको आरोप लगाउँदै चीन सरकारले प्रशारणमा रोक लगाएको हो ।
चीनमा बीबीसी वर्ल्ड सर्भिस टिभिको प्रशारण रोकिनुले धेरै असर नपर्ने बीबीसीको दावी छ । चीनमा यसअघि नै यो च्यानल अधिकतम मानिसहरुका लागि उपलब्ध नरहेको बीबीसीले जनाएको छ ।
कोरोना महामारी र सिनजियाङमा उइगर मुसलमान समुदायलाई शोषण गरेको विषयमा प्रशारित समाचारलाई लिएर यसअघि नै चीनले आपत्ति जनाएको थियो ।
गत हप्ता मात्र बेलायतको सञ्चार नियामक अफकमले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानल सीटीजीएनको प्रशारण लाइसेन्स खारेज गरेको थियो ।
बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै चीनको यो निर्णयले विश्वसामु उसको प्रतिष्ठा घटाउने जनाएको छ । एजेन्सी






