
नेपाली कांग्रेसको महाधिवेशन ताेकिएकै समयमा हुने भएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण दाेधारमा परेको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने जानकारी प्राप्त भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ ।आशन्न महाधिवेशनका बारेमा छलफल गर्न आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोनाका कारण प्रभावित तल्लो तहका अधिवेशनको मिति भने हेरफेर गर्ने निर्णय गरेको छ । “कोरोनाका कारण पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा असर परेकाे थियाे। अब कार्यतालिका रि–राइट (पुनर्लेखन) गर्नुपर्ने निर्णय भएको छ,” पदाधिकारी बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “पार्टीको केन्द्रीय महाधिवेशनको कार्यतालिकामा फागुन ७ मा कुनै हेरफेर नहुने गरी तल्लो तहको अधिवेशनको कार्यतालिका तय गरिन्छ ।
गत माघ १३ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७–१० काठमाडौंमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो । त्यसअघि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकबाट बहुमतका आधारमा केन्द्रीय कार्यसमितिको म्याद एकवर्ष थप गर्दै २०७७ फागुनको ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियाे ।







