
काठमाडौं, संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैनिक ‘कू’ विफल बनाउन विश्व समुदायलाई आह्वान गरेका छन् । उनले चुनावलाई उल्ट्याउनु अस्वीकार्य भएको बताउँदै कू गर्नेहरूलाई देशमा शासन गर्ने तरिका यो होइन भनेर बुझाउनैपर्ने बताएका हुन् ।
म्यानमारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्ने विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा समेत गुटेरसले व्यक्त गरेका छन् । कू विफल बनाउन र म्यानमारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै कदम चाल्ने उनको भनाइ छ ।
सोमबार सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।
सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो ।एजेन्सी






