
काठमाडौं, २०७७ को कक्षा १२ को परीक्षामा अहिलेसम्मकै धेरै ४७ विद्यार्थीले जिपिए ४ ल्याएका छन् । अघिल्लो वर्ष जिपिए ४ ल्याउने विद्यार्थीको संख्या शून्य थियो । यस वर्ष आन्तरिक मूल्यांकन, होम सेन्टरलगायतका कारण विद्यार्थीको समग्र नतिजामा धेरै सुधार देखिएको हो ।
उच्चस्तरको जिपिए ल्याउने विद्यार्थीको संख्या अघिल्लो वर्षभन्दा दोब्बर छ । अघिल्लो वर्ष सबैभन्दा उच्च जिपिए ३.६१ देखि ४ ल्याउनेको संख्या तीन हजार ६७ थियो । यो वर्ष जिपिए ३.६१ देखि ४.० ल्याउनेको संख्या ६ हजार नौ सय १६ छ ।
राष्ट्रय परीक्षा बोर्डले परीक्षा लिएको दुई महिनापछि सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले यस वर्षको नतिजा सार्वजनिक गर्न निकै कठिन भएको बताए । ४० प्रतिशत आफैँले लिएको परीक्षा, आन्तरिक मूल्यांकन, प्रयोगात्मक नम्बर तथा कक्षा ११ को ४० प्रतिशत जोड्नुपरेको र विद्यालयले लापरबाही गरेका कारण नतिजा सार्वजनिक गर्न कठिन भएको उनको भनाई छ ।
बोर्डले यो वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । त्यस्तै, ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । कोभिड–१९ का कारण पूर्णांक र समय घटाएर परीक्षा गरिएको थियो । परीक्षाका लागि देशभरका चार हजार एक सय पाँच केन्द्र तोकिएका थिए । सबै विद्यालयमा होमसेन्टर कायम भएको आजको नयाँ पत्रिकामा खबर छ ।







